प्रसिद्ध बडीकेदार मेला लाग्दै
धनगढीः डोटीको बडीकेदार मन्दिरमा जेठ १७ र १८ गते मेला लाग्ने भएको छ।
सो शिवमन्दिरमा केदारनाथ बाबा मन्दिर रूपमा पूजाआजा हुने गरेको छ। खास गरेर सन्तान नहुनेले सन्तान माग्दा सन्तान प्राप्ति हुने विश्वास गरिने सो मन्दिरमा पूजाआजा गर्न नेपालका सुदूरपश्चिम प्रदेश, कर्णालीको दैलेख र भारतको उत्तरप्रदेश तथा उत्तराखण्डका धर्मालम्बी आउने गर्छन्। मन्दिरमा कात्तिक पूर्णिमा र महाशिवरात्रिमा पनि पूजाआजा हुने र मेला लाग्ने गर्छ।
बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार सो मन्दिरमा बाह्रै महिना पूजाआजा गर्न पाउने व्यवस्था गर्न थालिएको छ। पूजाआजासँगै हुने मेला व्यवस्थापनका लागि आफूहरूले पूरै तयारी गरेको समितिका अध्यक्ष बमले बताए। उनले मेलामा आउनेका लागि सामान्य खाना र बस्नको व्यवस्थापन हुने पनि बताए। अहिले खाने, बस्ने राम्रो व्यवस्था छैन। चाँडै त्यो व्यवस्था गर्ने गरेर पूर्वाधार निर्माणका लागि काम गरिरहेको पनि उनले बताए।