सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणदत्त पौडेल सशस्त्र प्रहरीको नयाँ आइजिपी बन्ने तयारी

२०८३ वैशाख १४, ०१:३३ खबर संवाददाता

काठमाडौँ:सशस्त्र प्रहरी बलको महानिरीक्षक (आइजिपी) पदमा नारायणदत्त पौडेल नियुक्त हुने भएका छन्। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले हाल अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई संगठन प्रमुखमा नियुक्त गर्ने तयारी गरेको हो।

हालका आइजिपी राजु अर्यालको चार वर्षे कार्यकाल आगामी १८ वैशाखमा सकिँदैछ। त्यसपछि उनी अवकाशमा जानेछन्।

पौडेलले १८ चैत २०५४ मा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा सेवा सुरु गरेका थिए। २०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि उनी एक तह बढुवासहित डिएसपीमा समायोजन भएका थिए।

आइजिपी पदका लागि एआईजी बंशीराज दाहाल र गणेश ढाडा पनि प्रतिस्पर्धामा थिए। तर सरकारले वरिष्ठता र ज्येष्ठताको आधारमा पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको हो।

पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए भने दाहाल सोही वर्ष असोज २८ मा एआईजी बनेका थिए।

नयाँ प्रहरी नियमावलीमा ३० वर्षे उमेर हद यथावत रहेमा पौडेलको कार्यकाल करिब २३ महिनाको हुनेछ। यदि उमेर हद बढाएर ३२ वर्ष पुर्‍याइएमा उनको कार्यकाल अझै करिब दुई वर्ष थपिने सम्भावना रहेको छ।

कमेन्ट लोड गर्नुस