सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाको टोली दार्चुलाको मार्मा पुग्यो, जनप्रतिनिधिद्वारा स्वागत

२०८३ वैशाख १५, ०४:०९ जयन्त सिंह भाट

धनगढी: दार्चुलाकाे मार्मा गाउँपालिका पुगेको धनगढी उपमहानगरपालिकाको अपि हिमाल बेस क्याम्प पदयात्रा टोलीलाई स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका छन्।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित निस्किएको टोली हाल दार्चुलामा प्रवेश गरी यात्रालाई अगाडि बढाइरहेको छ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार धनगढीबाट प्रस्थान गरेको थियो। टोलीले अपि हिमाल क्षेत्रका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।

यसअघि उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा सुरु गरिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियानको निरन्तरताका रूपमा स्थानीय सरकारकै पहलमा यो यात्रा आयोजना गरिएको मेयर हमालले बताएका छन्। धनगढीमा औपचारिक कार्यक्रमबीच बाजागाजा र फूलमालासहित टोलीलाई बिदाइ गरिएको थियो।

१० दिनको कार्यतालिकासहित निस्किएको टोलीले निर्धारित स्थानसम्म सवारी साधनमार्फत र त्यसपछि पैदल यात्रा गर्दै अपि हिमाल बेस क्याम्पसम्म पुग्ने योजना बनाएको छ। यस यात्राले सुदूरपश्चिमका ओझेलमा परेका हिमाली तथा पर्यटकीय सम्भावनाहरू उजागर गर्ने अपेक्षा गरिएको छ।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस