नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव
बाँकः नेपालगञ्जमा पहिलो पटक थारु खाना महोत्सव आयोजना हुने भएको छ।
यही वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव यहाँस्थित सोल्टी वेस्टेन्ड प्रिमियर नेपलगञ्जमा आयोजना हुन लागेको हो। थारु समुदायमा खाइने परिकारका मौलिक स्वाद, संस्कृति र परम्परागत खानालाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जका महाप्रबन्धक राजबिक्रम शाहले जानकारी दिए।
थारु समुदायको परम्परागत खाना परिकारको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तासम्म यसको मौलिक स्वाद र सांस्कृतिक महत्व पु¥याउने उद्देश्यले नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव आयोजना गर्न लागिएको हो। “महोत्सवमा अनुभवी सेफद्वारा तयार पारिएका थारु समुदायका परिकारहरू प्रस्तुत गरिनेछन्, थारु समुदायको मौलिक खानालाई संरक्षण गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने हाम्रो उद्देश्य हो”, महाप्रबन्धक शाहले भने।
महोत्सवमा प्रवेश निःशुल्क रहनेछ भने पाहुनाहरूले रु ५०० को भौचर खरिद गरी विभिन्न परिकारहरूको स्वाद लिन सक्नेछन्। साँझ ६ बजेबाट राति ११ बजेसम्म सञ्चालन हुने महोत्सवमा हरेक राति ९ बजेदेखि १० बजेसम्म थारु सांस्कृतिक नृत्य प्रस्तुति पनि गरिने छ। महोत्सवमार्फत थारु समुदायको जीवित संस्कृति, कला र परम्परासँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको छ।