संस्कृत विश्व विद्यालयका उपकुलपतिले पनि बुझाए राजीनामा
काठमाडौँः नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा बुझाउने क्रम तीव्र बनेको छ। यही क्रममा संस्कृत विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले पनि राजीनामा बुझाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उपकुलपति नेपालले यही २२ गतेदेखि लागू हुने गरी शुक्रबार राजीनामा दिएका हुन्। यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले समेत पदबाट राजीनामा दिएका थिए।
सरकारको निर्णयपछि विश्वविद्यालय अनुदान आयोगलगायत विभिन्न निकायका प्रमुखहरूले पनि आ–आफ्नो पदबाट राजीनामा बुझाइसकेका छन्। यद्यपि अझै केही विश्वविद्यालयका उपकुलपतिहरूले राजीनामा नदिएको बताइएको छ।
सरकारले एकैपटक विभिन्न क्षेत्रका राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेपछि पदत्याग गर्नेको संख्या बढ्दै गएको हो। यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक दीपक अर्याल, रेक्टर प्राध्यापक खड्ग केसी र रजिस्ट्रार प्राध्यापक केदारप्रसाद रिजालले राजीनामा दिएका थिए।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। उक्त अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्त भई बहाल रहेका करिब १ हजार ५०० जना पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो। तर हालसम्म राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भइसकेको छैन।