आगलागीबाट ३२ लाख बराबरको क्षति
देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा शनिबार भएका आगालागीका घटनामा उक्त रकम बराबरको धनमान नष्ट भएको हो। रौतहकटको देवाही गोनाही नगरपालिका–५ टिकुलीया टोलका वकिल यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको छ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ गदियानी टोलका मुस्तकिम मिया मन्सुरीको घरमा आगो लाग्दा रु पाँच लाख ५० हजार बराबरको धनमाल जलेको छ। यसैगरी दार्चुलाको महाकाली नगरपालिका–४ स्थित जसु लुहारको कस्मेटिक पसल र सँगैको चियानास्ता पसलमा आगालागी हुँदा करिब रु १६ लाख ५० हजार बराबरको धनमाल खरानी भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ र म्याग्दीको मङ्गला गाउँपालिका–२ खुम्लियामा विद्युत् चुहिएर आगो लाग्दा क्रमशः रु छ लाख र दुई लाख बराबरका सामान जलेका जनाइएको छ।