लिपुलेक नाका विवाद: नेपाल–भारतबीच फेरि मतभेद, भारतले दोहोर्यायो पुरानै अडान
काठमाडौँः लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने चीन र भारत को निर्णयप्रति नेपाल ले आपत्ति जनाएपछि भारतले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै सीमाक्षेत्रमा भइरहेका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। त्यसको जवाफमा भारतको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै आफ्नो पुरानै अडान दोहोर्याएको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको दाबी गरेका छन्। भारतले यसलाई नयाँ विषय नभई दशकौँदेखि निरन्तर चलिरहेको प्रक्रिया भएको उल्लेख गरेको छ।
सीमासम्बन्धी विषयमा प्रतिक्रिया दिँदै भारतले नेपालको दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको छ। “एकपक्षीय रूपमा क्षेत्रीय दाबी विस्तार गर्नु व्यवहारिक रूपमा स्वीकार्य हुँदैन,” जैसवालद्वारा जारी वक्तव्यमा भनिएको छ।
भारतले सीमा विवादका विषयहरू ऐतिहासिक तथ्यका आधारमा मात्र समाधान गर्नुपर्नेमा जोड दिएको छ। यद्यपि, नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै सबै विषयमा रचनात्मक संवादका लागि आफू तयार रहेको भारतले जनाएको छ।
बाँकी रहेका सीमासम्बन्धी विवादहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै भारतले वार्ताको ढोका खुला रहेको स्पष्ट पारेको छ।