तमिल अभिनेता विजय थालापती तमिलनाडुका मुख्यमन्त्री बन्ने बलियाे सम्भावना
भारतः तमिलनाडू विधानसभा निर्वाचनको मतगणना जारी छ। बिहान ८ बजेदेखि सुरू मतगणना मध्याह्नसम्म पुग्दा तमिल अभिनेता विजय थालापतीको पार्टी तमिलगा वेट्री कजगम (टिभिके) 'अप्रत्यासित' जिततर्फ अग्रसर छ।
हिन्दुस्तान टाइम्सका अनुसार २३४ मध्ये २२७ सिटमा मतगणना जारी हुँदा १२२ सिटमा टिभिके अगाडि छ। भारतीय मिडियाहरूले पार्टी अध्यक्ष थालापतीलाई तमिलनाडुका नयाँ मुख्यमन्त्री बन्ने पक्कापक्की भएको उल्लेख गरेका छन्।
यहाँ द्रविडा मुनेत्रा कजगम (डिएमके) र कंग्रेस आईले गठबन्धन बनाएर चुनाव लडेका थिए। डिएमके अघिल्लो चुनावबाट सत्तामा आएको हो। यसअघि पनि ऊ पटकपटक सत्तामा आएको थियो।मतगणना जारी रहँदा गठबन्धन तेस्रो स्थानमा छ। उसका ४३ जना उम्मेदवारले अग्रता लिइरहेका छन्।
भारतीय जनता पार्टी (भाजपा)सहितको एनडिए गठबन्धन दोस्रो स्थानमा छ। उसले अहिलेसम्म ६६ स्थानमा अग्रता कायम गरेको छ। विजयले २०२४ मा मात्रै टिभिके स्थापना गरेका थिए। स्थापनाको दुई वर्षमै विजयको पार्टी सत्तामा आउने रूझान देखाएको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार टिभिकेले मतगणनाको सुरुवाती चरणमै बहुमतका लागि आवश्यक ११८ सिट पार गर्दै करिब १७० सिटसम्म अग्रता बनाएको थियो। तर केही समयपछि त्यो अग्रता घट्दै फेरि ११८ भन्दा तल झरेको छ। यद्यपि, टिभिके अझै प्रमुख प्रतिस्पर्धीका रूपमा अगाडि देखिएको छ।
विजय आफै चेन्नईको पेराम्बुर र त्रिची पूर्व दुवै सिटमा अग्रस्थानमा रहेका छन्। पहिलोपटक चुनाव लड्दै सबैलाई चकित पार्ने प्रदर्शन गरिरहेको छ। विजयले कुनै गठबन्धन नगरी एक्लै सबै २३४ सिटमा उम्मेदवारी दिएका छन्। यसलाई जोखिमपूर्ण तर साहसी कदमका रूपमा विश्लेषण गरिएको थियो।
यसपालिको चुनावमा उनले सिठ्ठी अभियान सञ्चालन गरेका थिए। उनले आफूलाई हरेक तमिल परिवारको सदस्यका रूपमा प्रस्तुत गर्दै सिठ्ठीलाई परिवर्तनको प्रतीक बनाएका थिए। विजयले डीएमकेलाई खराब शक्ति भन्दै सिठ्ठी अभियानमार्फत सत्ताबाट हटाउने दाबी गरेका थिए।
चुनावी प्रचारका क्रममा विजयले डिएमकेलाई राजनीतिक र भाजपालाई वैचारिक शत्रु भनेका थिए। त्यसकारण कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका थिए। विजयलाई चुनावअघि विभिन्न दलले गठबन्धनका प्रस्तावसमेत गरेका थिए भनेर टाइम्सले लेखेको छ।
टीभिकेका महासचिव आधव अर्जुनले विजयलाई मुख्यमन्त्री पदसहित ५० प्रतिशत सिटको प्रस्ताव आएको दाबी गरेका थिए। तर विजयले त्यसलाई अस्वीकार गर्दै एक्लै चुनाव लड्ने निर्णय गरेका थिए।