संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले पुनः सिफारिस गरेपछि राष्ट्रपतिले आज उक्त अध्यादेश जारी गरेका हुन्।
यसअघि सरकारको सिफारिसमा आएका आठ अध्यादेशमध्ये सातवटा जारी गरिसकेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए। सो अध्यादेशलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि आज जारी गरिएको हो।
जारी अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा चार जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद् ६ सदस्यीय हुन्छ। परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभा अध्यक्ष सदस्यका रूपमा रहने व्यवस्था छ।