सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कृषक पाठशाला स्थापना

२०८३ वैशाख २२, ०३:०० रासस

बैतडी: बैतडीको सिगास गाउँपालिका–१ बचकोटमा कृषक पाठशाला स्थापना गरिएको छ । किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन पाठशाला स्थापना गरिएको हो। 

दिगो आम्दानी मार्फत महिला उद्यमीहरूको सशक्तिकरण परियोजना अन्तरगत जलवायुमैत्री कृषक पाठशाला सञ्चालन गरिएको परियोजना प्रमुख भूपाल बोहराले जानकारी दिए। 

पाठशालाले कृषकहरूलाई तरकारी खेती सम्बन्धित परामर्श दिने तथा रोग किराको नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादनमा वृद्धि गर्न टेवा पुर्‍याउने उनले बताए। कृषि प्राविधिकले कृषककै बारीमा गएर प्रयोगात्मक रुपमा बाली लगाएर परम्परागत र तालिम दिँदा किसानलाई सहज हुने बताइएको छ।

यसअघि यस परियोजनाबाट सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सञ्चालन गरिएको थियो। 

रासायनिक विषादीको प्रयोगमा कमी ल्याउँदै तरकारी खेतीमा अन्य वैकल्पिक विधिबाट रोग किराको नियन्त्रणका लागि कृषक पाठशाला सञ्चालन गर्न लागिएको जनाएको छ। 

आज बचकोटमा उद्घाटन गरिएको कार्यक्रममा सहभागी सिगास–१ का वडा अध्यक्ष रामचन्द्र ऐरले यस परियोजनाले महिलाहरूको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताए। 

कमेन्ट लोड गर्नुस