सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ पहिलो साताबाट समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया सुरु

२०८३ वैशाख २२, ०८:१८ खबर संवाददाता

काठमाडौँः समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम फिर्ता गर्ने प्रक्रिया जेठको पहिलो सातादेखि सुरु हुने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार सार्वजनिक गरेको कार्ययोजनाअनुसार मागदाबी पेश गरेका बचतकर्तालाई प्राथमिकतामा राख्दै रकम फिर्ता थालिनेछ।
समितिका अनुसार मागदाबी गर्न छुट भएका बचतकर्तालाई आगामी साउनको पहिलो साताबाट पुनः निवेदन दिने अवसर प्रदान गरिनेछ, जसबाट थप प्रभावितहरूलाई पनि समेट्ने लक्ष्य राखिएको छ।
यता, कर्जा असुली प्रक्रियालाई कडाइका साथ अघि बढाइने समितिले जनाएको छ। किस्ताबन्दीमा कर्जा तिर्ने लिखित प्रतिबद्धता जनाएर आंशिक रकम बुझाउने ऋणीलाई निश्चित समयसीमा दिइनेछ। तर, अटेर गर्ने ऋणीमाथि कडा कारबाही गरिनेछ।
समितिले कर्जा नतिर्ने व्यक्तिहरूको तीन पुस्तेसम्मको विवरण सार्वजनिक गर्ने तथा परिवारका सदस्यलाई समेत कालोसूचीमा राख्ने चेतावनी दिएको छ, जसले कर्जा असुलीमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस