संवैधानिक परिषद् बैठक आह्वान, रिक्त पदमा नियुक्ति सिफारिस हुने
काठमाडौँः प्रधानमन्त्री बालेन शाहले संवैधानिक पदहरूमा नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाएका छन्। स्रोतका अनुसार बैठक विहीबार साँझ ५ बजेका लागि तय गरिएको छ।
सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढेको हो।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्तलगायतका महत्वपूर्ण संवैधानिक पद रिक्त छन्। यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष पद खाली छ भने एकजना बाहेक अन्य सदस्य पद पनि रिक्त छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ।
समावेशी आयोगमा अध्यक्ष र एक सदस्य, महिला आयोगमा एक पद तथा मुस्लिम आयोग र थारू आयोगमा पनि पदाधिकारी पद रिक्त रहेका छन्।
संवैधानिक व्यवस्थाअनुसार परिषद्ले नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी व्यवस्था छ।