सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

२०८३ वैशाख २४, ०४:४१ रासस

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताएका छन्। विभिन्न समयमा भएका जनआन्दोलन तथा सङ्घर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने उहाँले विश्वास व्यक्त गरेका छन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गरे।

उनले भने, “हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो। संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय तथा स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो। यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने मैले विश्वास लिएको छु।”

राष्ट्रपति पौडेलले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निष्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे।

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताए। उनले श्रमजीवी पत्रकारको हकहित र सञ्चारगृहको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेको बताए।

सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन तथा मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चारमाध्यमसामु थपिएको चुनौती रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुनेमा आफू विश्वस्त रहेको बताए।

राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकारिता सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारले दशकौँदेखि कलमका माध्यमबाट समाजलाई देखाउनुभएको बाटो तथा पु¥याउनुभएको योगदानको कदरस्वरूप राज्यको सम्मान भएको बताउँदै पुरस्कृत सबैलाई बधाई दिए। उनले पुरस्कृत पत्रकारको साधनाले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लागिरहन सधैँ उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा राष्ट्रपति पौडेलले ‘वरिष्ठ पत्रकार’ सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गर्नुभयो भने भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई ‘राष्ट्रिय पत्रकारिता’ पुरस्कार प्रदान गरे।

कमेन्ट लोड गर्नुस