सुदूर नेपाललाई विश्वसँग जोड्दै

लाइसेन्स पाएर पनि खानी सञ्चालन नभएपछि बैतडीका नागरिक अगुवाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र*

२०८३ वैशाख २५, ०५:४७ खबर संवाददाता

बैतडीः विस्तृत अध्ययन भई उत्खननका लागि निजी क्षेत्रले अनुमति (लाइसेन्स) पाएर पनि खानी सञ्चालन नभएपछि बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । विस्तृत अध्ययन भइसकेका खानीमा सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा, फलाम र कृषि मलमा प्रयोग हुने फस्फोराइट खानी रहेका छन् । 

बुधबार उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नागरिक अगुवा र बुद्धिजीवीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए। उनले वर्तमान सरकारले बैतडीवासीको माग सुन्ने विश्वास पनि व्यक्त गरे।   

उनले भने, “सरकारले सिमेन्ट उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उत्खननको लाइसेन्स दिइसकेको छ । सडक विभागसँग राय माग गर्ने विषयको फाइल अड्किएकाले ढिलासुस्ती भइरहेको जानकारी प्राप्त भएपछि सर्वसधारणमा चासो बढेको छ। खानी सञ्चालन हुन सके हजारौँले रोजगारी पाउने आशा गरिएको छ ।”  

सुदूरपश्चिम प्रदेश सरकारको पहलमा २०७८ सालमा भएको विस्तृत अध्ययनपछि बैतडीको दोगडाकेदार र सुर्नया गाउँपालिकाको सिमाना धर्मधरमा रहेको चुनढुङ्गा खानी उत्खनन गर्न आइएई ग्रुपले अनुमति पाएको छ । 

सो कम्पनीले ३० अर्ब रुपियाँ लगानी गरेर सिमेन्ट उद्योग सञ्चालन गर्ने तयारी थालेको कम्पनीका प्राविधिक प्रेम खड्काले बताए। खानी उत्खननका लागि सबै प्रक्रिया पूरा भइसके पनि खानीभन्दा तल सडक क्षेत्र परेकाले सडक विभागसँग राय माग गरको उनले बताए।  

केही समयअघि सो फाइल विभागबाट बैतडी आइपुगेपछि स्थालगत अध्ययन गर्दा पाँच सय मिटर टाढा रहेको सडक डिभिजन कार्यालयका प्राविधिक इन्जिनियर प्रदीप भट्टले बताए। उनले सडक विभागले पुनः अध्ययन गरेर पठाउन भनेकाले सोही अनुसार काम भइरहेको जानकारी दिए।  

त्यसै गरी दोगडाकेदारमा रहेको फस्फोराइट खानी उत्खनन गर्न छ वर्षअघि भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काको नेतृत्वमा १५ जनाको टोलीले ५५ दिनसम्म खानीमा ड्रिल (प्वाल पार्ने काम) गरेर नेपालमै कृषि मल बन्ने 

सम्भावना औँल्याएर टोली फर्किएको थियो । अध्ययनपछि खानी उत्खननका लागि कोही नफर्किएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। 

बैतडीको पुर्चौडी नगरपालिकाको मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा ४० वर्षअघि स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल अहिले पनि भेटिने गरेको चन्दले बताए। त्यहाँको फालाम खानी द्वन्द्वकालमा बन्द भएको थियो । 
 

कमेन्ट लोड गर्नुस