सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी त्रिनगर भन्सार क्षेत्रमा तस्करी सेटिङको आरोप, प्रहरी चौकीमै राखिएको सामान पुनः बाहिर भेटियो

२०८३ वैशाख २६, ०२:४५ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीस्थित त्रिनगर भन्सार क्षेत्रमा रहेको प्रहरी चौकीले तस्करीको सामान छाडिदिएको गम्भीर घटना सार्वजनिक भएको छ। नेपाल प्रहरीका वरिष्ठ सई रामसिंह बोहराको कमाण्डमा रहेको त्रिनगर प्रहरी चौकीले क्यारिङ गर्नेहरूबाट आर्थिक लाभ लिँदै भन्सार छलिका सामान र तस्करी गर्नेहरूलाई समेत छुट दिएको आरोप लागेको हो।

सरकारले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान विदेशबाट ल्याउँदा अनिवार्य भन्सार गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिरहेको अवस्थामा त्रिनगर प्रहरी चौकीले भने भन्सार छलिलाई खुलेआम छुट दिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार बिहीबार सशस्त्र प्रहरी बल नेपालका कर्मचारीले नाका क्षेत्रमा क्यारिङ गर्ने एक महिलालाई भन्सार छलिका सामानसहित पक्राउ गर्न खोजेका थिए। त्यसक्रममा ती महिला भागेर त्रिनगर प्रहरी चौकीभित्र पसेकी थिइन्। सशस्त्र प्रहरीले भन्सार छलिको सामान बरामद गर्न प्रहरीसँग आग्रह गरे पनि सामान नियन्त्रणमा लिने विषयमा प्रहरी र सशस्त्रबीच विवाद भएको बताइएको छ।

विवादपछि 'अन्ततः सामान भन्सारमै बुझाइने' भन्दै सशस्त्र प्रहरीले सामान प्रहरी चौकीमै छाडेको स्रोतले जनाएको छ। तर प्रहरी चौकीमा राखिएको सोही सामान शुक्रबार उनै महिलाले पुनः अटोमा हालेर धनगढी चौराहातर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीको मिलनचोक नजिकको चेकपोस्टबाट बरामद गरिएको छ।

प्रहरी चौकीभित्र राखिएको सामान महिलाले कसरी फिर्ता पाइन् भन्ने विषय खुल्न बाँकी रहे पनि चौकीमै राखिएको सामान पुनः बाहिर भेटिनु असामान्य र शंकास्पद घटनाका रूपमा हेरिएको छ। बरामद गरिएको सामान करिब ४० हजार रुपैयाँ बराबरको कपडाको एक बोरा रहेको स्रोतले जनाएको छ।

त्रिनगर प्रहरी चौकीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई रामसिंह बोहरा दुई महिनाअघि मात्रै खटाइएका थिए। ६ महिनाका लागि पठाइएका उनी २ महिनामै विवादमा तानिएका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनासँग बुझ्न खोज्दा उनको फोन उठेन।

 

कमेन्ट लोड गर्नुस