कैलालीमा छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित ३ जना पक्राउ
धनगढी: कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाबाट लागूऔषधसहित सवारी साधन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर भन्सार नजिक शनिबार दिउँसो कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ बस्ने २३ वर्षीय भुवन ऐरी पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट २६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो।
त्यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट जानकी गाउँपालिका–७ बस्ने ३० वर्षीय रामकृष्ण थारु पक्राउ परेका छन्। शनिबार साँझ भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले जाँच गर्दा ३ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीले लागूऔषधसहित साइकल समेत नियन्त्रणमा लिएको छ।
यस्तै, जानकी गाउँपालिका–१ गुजरुवा चौराहाबाट जानकी गाउँपालिका–५ पथरैया बस्ने २६ वर्षीय अशोक चौधरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनको साथबाट ८४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।