एसइई २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा, एसएमएसदेखि वेबसाइटसम्मबाट हेर्न सकिने
भक्तपुरः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।
नतिजा प्रकाशनपछि परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक र विवरण थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको व्यवस्था गरेको छ। यस वर्ष नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षाको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ।
एसएमएस र आईभीआर सेवा
एसएमएस तथा फोन कलमार्फत नतिजा बुझ्न चाहने परीक्षार्थीहरूका लागि विभिन्न सेवा प्रदायक तोकिएका छन्। नेपाल टेलिकमको १६०० मा डायल गरेर वा एसएमएसमार्फत नतिजा थाहा पाउन सकिनेछ। त्यसैगरी, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
वेबसाइटबाट नतिजा र मार्कसिट
विस्तृत विवरण तथा मार्कसिट हेर्न र डाउनलोड गर्न सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिइएको छ। परीक्षार्थीहरूले बोर्डका आधिकारिक वेबसाइट see.gov.np र neb.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।
यसका अतिरिक्त नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, खल्ती एप, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सका पोर्टलमार्फत पनि नतिजा उपलब्ध हुनेछ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थी तथा अभिभावकलाई भ्रममा नपरी केवल आधिकारिक माध्यमहरूबाट मात्र नतिजा हेर्न अनुरोध गरेको छ।