बैतडीमा चट्याङको कहर : पशुचौपाया मरे, जिल्लाभर विद्युत् सेवा अवरुद्ध
बैतडी: बैतडी जिल्लाका विभिन्न स्थानमा परेको चट्याङका कारण पशुचौपायाको मृत्यु हुनुका साथै जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ।
दशरथचन्द नगरपालिका–२, देहिमाण्डौमा सोमबार दिउँसो करिब साढे ३ बजे चट्याङ पर्दा स्थानीय भुवन बोहराका दुई वटा बाख्रा मरेका छन्। वनबाट बाख्रा चराएर घर फर्कने क्रममा परेको चट्याङबाट अर्को एक बाख्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यस्तै, सुर्नया गाउँपालिका–७, झार्कुमा मङ्गलबार बिहान करिब साढे ३ बजे स्थानीय डम्मर महराको घरमा चट्याङ पर्दा एउटा भैँसी र एउटा बाख्रा मरेका छन्। घटनाको जानकारी वडा सदस्य लालबहादुर महराले प्रहरी चौकी शङ्करपुरलाई दिएका थिए। त्यसपछि प्रहरी वरिष्ठ हवल्दार पदम धामीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बल्देव बडुका अनुसार दुवै घटनामा मानवीय क्षति भने भएको छैन।
सोमबार आएको हावाहुरी र चट्याङका कारण विद्युत् प्रणालीमा क्षति पुग्दा सोमबारदेखि नै जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयको दैनिक जनजीवन, सञ्चार सेवा तथा कामकाज प्रभावित बनेको छ।
नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत कार्य जारी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ।
गाेरखापत्रबाट