सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली, कञ्चनपुर र दार्चुलाबाट भन्सार छलिका सामान बरामद

file photo
file photo
२०८३ वैशाख ३०, ०३:०६ खबर संवाददाता

धनगढी : कैलाली, कञ्चनपुर र दार्चुलाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ। मंगलबार गरिएको छुट्टाछुट्टै कारबाहीमा भारतबाट अवैध रूपमा भित्र्याइएका लाखौँ मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट र टिकापुर नगरपालिका–६ वाणीपुल क्षेत्रबाट अन्दाजी १ लाख ४३ हजार ३ सय रुपैयाँ बराबरका कुर्ती सेट, धोती, साडी, सुटपिस, पेठा, चप्पल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको हो। प्रहरी गस्ती टोलीले आवश्यक प्रक्रिया पूरा गरी ती सामान नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, दोधारा चाँदनी नगरपालिका–७ बौद्धनगरबाट भारतबाट भन्सार छलि गरी ल्याइएको अन्दाजी ६० हजार रुपैयाँ बराबरको ‘आइस स्टिक्स’ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, महाकाली नगरपालिका–४ लास्कु खोलाबाट अन्दाजी ३१ हजार ७ सय ८५ रुपैयाँ बराबरका बिडी, सुर्ती, खाने तेल, काजु, बदाम र मिश्री लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस