संसद्मा रास्वपाको जवाफ : प्रधानमन्त्री नआउनु निरन्तरताको क्रमभंगता
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसद्मा प्रधानमन्त्री अनुपस्थित भएको विषयको बचाउ गरेका छन् ।
विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बाट आउनुपर्ने माग गरिरहेका छन् । जवाफमा सहमहामन्त्री आचार्यले प्रधानमन्त्रीकै बचाउ गरेका हुन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ यो परम्परा हो भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रम भंगता हो ।’
यही वैशाख २८ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसउपर बिहीबार छलफल भएको छ ।
नीति तथा कार्यक्रममाथि ३५ वटा विरोधको सूचना परेका थिए । सूचना दिनेहरूले आफ्नो तर्क प्रस्तुत गरेका छन् ।
यसक्रममा पनि विपक्षी दलहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने बताएका छन् । तर, रास्वपाका सहमहामन्त्री आचार्यले प्रधानमन्त्री नआउनु निरन्तरताको क्रमभंगता भनेका हुन् ।