कोल्टी ईलाका प्रशासनबाट मालपोत र नापीसम्बन्धी सेवा सुरु भएन
बाजुरा: बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ कोल्टीमा भूमि प्रशासन कार्यालय स्थापना भएको झन्डै एक महिना पुगे पनि सेवा प्रवाह भने सुरु हुन सकेको छैन ।
यहाँका हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाका स्थानीयलाई जग्गा कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले २०८३ वैशाख १ गते कोल्टीमा उक्त कार्यालय स्थापना गरिएको थियो ।
कार्यालय स्थापना भएको एक महिना बितिसक्दा पनि नागरिकले सेवा पाउन नसकेपछि स्थानीयमा अन्योलता छाएको छ । स्थानीय सरकार, जिल्ला प्रशासन तथा नेताहरूको पहलमा गाउँमै सेवा दिने उद्देश्यले मालपोत र नापीसम्बन्धी सेवा सञ्चालनका लागि कार्यालय स्थापना गरिएको भए पनि सेवा प्रवाह सुरु हुन नसकेको हो ।
हिमाली गाउँपालिका का स्थानीय नरवीर रोकायाले कोल्टीमा स्थापना गरिएको मालपोत र नापी कार्यालयले अझै काम सुरु नगरेको बताए ।
“इलाका प्रशासन कार्यालय कोल्टीले स्थापना भएकै दिनदेखि नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने काम सुरु गरेको थियो,” उनले भने, “त्यसरी नै मालपोत र नापी कार्यालयले पनि काम सुरु गरेको भए राम्रो हुन्थ्यो ।”
उनका अनुसार कार्यालय स्थापना भएदेखि नै कार्यालय खुला छन् र कर्मचारी पनि नियमित हाजिर हुने गरेका छन् । तर नागरिकलाई सेवा प्रवाह भने अझै हुन सकेको छैन ।
कोल्टीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय कोल्टी ले वैशाख १ गतेदेखि नै सेवा सुरु गरेको थियो । कार्यालयले स्थापना भएकै दिन नागरिकता वितरण तथा राष्ट्रिय परिचयपत्र बनाउने कामसमेत सुरु गरेको थियो ।
इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीयलाई नागरिकता बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । बिहान आएर बेलुकासम्म काम सकेर घर फर्किन सकिने भएपछि स्थानीयको समय र खर्च दुवै बच्न थालेको छ । तर मालपोत र नापी कार्यालयबाट सेवा सुरु नहुँदा स्थानीय अहिले पनि समस्यामा परिरहेका छन् ।
यता भूमि प्रशासन कार्यालय कोल्टीका प्रमुख देवराज नाथले कर्मचारी कार्यालयमा नियमित उपस्थित भए पनि आवश्यक सामग्री अभावका कारण सेवा सञ्चालनमा समस्या भएको बताए। “यहाँका स्थानीय तहले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराउने सहमति गरेका थिए,” उनले भने “अहिलेसम्म केही स्थानीय तहले ती सामग्री उपलब्ध गराएका छैनन् ।”
उनका अनुसार बुधबार मार्तडीबाट ढड्डा पनि ल्याइसकिएको छ । तर माथिबाट सिस्टमको युजर पासवर्ड नआएकाले सेवा प्रवाह सुरु गर्न नसकिएको हो । यता गोविन्दबहादुर मल्लले आफूहरूले उपलब्ध गराउने भनिएको सामग्री भूमि प्रशासन कार्यालय कोल्टीलाई हस्तान्तरण गरिसकेको बताए।