ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
काठमाडाैँ: केपी शर्मा ओलीको सचिवालय प्रमुखमा एमालेकी केन्द्रीय सदस्य निरुदेवी पाल तोकिएकी छन्। उक्त जिम्मेवारीलाई आज बस्ने पार्टी सचिवालय बैठकले औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरिएको छ।
एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार बैठकले ८ प्रदेश, ७७ जिल्ला, ४ गैरभौगोलिक जिल्ला तथा प्रवास कमिटीका इञ्चार्जसमेत तोक्नेछ। साथै देशभरका ७५३ स्थानीय तहमा पनि केन्द्रीय सदस्य वा आवश्यकताअनुसार प्रदेशस्तरका नेताहरूलाई इञ्चार्जको जिम्मेवारी दिइनेछ।
यसै क्रममा अध्यक्ष ओलीको सचिवालय प्रमुखको जिम्मेवारी पाललाई दिइएको हो। उनले केही समयदेखि अध्यक्षको सचिवालयमा सक्रिय रूपमा काम गरिरहेकी छन्। स्वास्थ्य अवस्थाका कारण हाल अध्यक्षको सचिवालय भक्तपुरको गुण्डुस्थित निवासबाट सञ्चालन भइरहेको पालले बताएकी छन्। स्वास्थ्यमा सुधार आएपछि सचिवालय पुनः पार्टी कार्यालयमै सञ्चालन हुने जनाइएको छ।
ओलीको सचिवालयमा स्वकीय सचिवका रूपमा रहेका राजेश बज्राचार्य र दीपेन्द्र दाहाल यथावत् रहनेछन्। उनीहरूले निवास केन्द्रित सचिवालय व्यवस्थापन सम्हाल्नेछन् भने कार्यालय सञ्चालन, राजनीतिक समन्वय र उच्चस्तरीय भेटघाटको व्यवस्थापन पालले गर्ने एमाले स्रोतको भनाइ छ।
पाल एमालेमा दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी छन्। ११औँ महाधिवेशनमा खुला महिलातर्फ १८८८ मत प्राप्त गर्दै निर्वाचित भएकी उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी थिइन्।