सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्च अदालत प्रशासनविरुद्ध नेपाल बारको सांकेतिक प्रदर्शन, लालटिन बालेर विरोध जनाइने

२०८३ जेठ ५, १०:२४ खबर संवाददाता

काठमाडौँः नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै आज दिउँसो सांकेतिक विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

सर्वोच्च अदालत प्रशासनले दर्ताका लागि पेस भएको निवेदन अस्वीकार गरेको भन्दै बारले आज दिउँसो सवा १ बजे लालटिन बालेर विरोध जनाउने भएको हो। बारका प्रवक्ता तथा महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला का अनुसार, लालटिन बालेर प्रशासनका अनपेक्षित क्रियाकलापको विरोध गरिनुका साथै न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गरिनेछ।

बारले सर्वोच्च अदालतमा परेको दरपीठ उपरको निवेदनलाई कुनै कारण नदेखाई दर्ता नगरी राखिनुलाई प्रशासनको क्षेत्राधिकार बाहिरको कार्य र न्यायिक मार्गमा अवरोध सिर्जना गर्ने कदमका रूपमा ठहर गरेको छ। न्याय प्रशासनको अन्तिम जिम्मेवारी सम्हाल्ने कायममुकायम कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगर्ने प्रशासनको रवैयालाई बारले असाधारण र अप्राकृतिक भनेको छ।

यस प्रकारको कदम ऐतिहासिक भूल भएको र यसमा प्रचलित कानुन आकर्षित हुने स्पष्ट धारणा बारले सार्वजनिक गरेको छ।

यसैबीच, सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दासम्बन्धी विषयमा प्रतिनिधि सभा बैठकमा सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटा ले बोलेको विषयप्रति पनि बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विचाराधीन मुद्दामा संसद्मा विचार व्यक्त गरिनु दुःखद् भएको ठहर गर्दै, ती मन्तव्यहरू संसदीय अभिलेखबाट हटाउन बारले माग गरेको छ।

साथै, आगामी दिनमा यस्ता घटनाहरू पुनः नदोहोरिन दिन स्पष्ट आदेश जारी गर्न सभामुखसँग आग्रहसमेत गरिएको छ।

कमेन्ट लोड गर्नुस