सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०८३ जेठ ५, ०१:४१ खबर संवाददाता

बैतडीः बैतडीका तीन विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। दशरचन्द नगरपालिका–४ स्थित नागार्जुन आधारभूत विद्यालय, वीरेन्द्र माध्यमिक विद्यालय र दशरथचन्द आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई उक्त सहयोग प्रदान गरिएको हो।

अमेरिकामा बसोबास गर्दै आएका ओम आचार्य तथा अष्ट्रेलियामा रहेका हरि साउँदले कापी, झोला तथा विद्यालय पोशाक पठाएर सहयोग गरेका हुन्।

स्थानीय मोहित भण्डारीका अनुसार बीरेन्द्र माध्यमिक विद्यालयको छात्रावासमा बस्दै आएका आमा–बुबा गुमाएका १९ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। त्यस्तै नागार्जुन आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई कापी तथा दशरथचन्द आधारभूत विद्यालयका २१ जना विद्यार्थीलाई झोला वितरण गरिएको उनले बताए।

स्थानीय युवा महेश भट्टले दलित, विपन्न तथा अभिभावक गुमाएका विद्यार्थीको पढाइमा सहयोग र उत्प्रेरणा दिने उद्देश्यले सामग्री संकलन गरेर वितरण गरिएको जानकारी दिए।

वीरेन्द्र माध्यमिक विद्यालयका प्राचार्य हर्क चन्दले बैतडी सदरमुकामका समाजसेवी युवाहरूले सञ्चालन गरेको विपन्न वर्गका छात्रछात्रालाई सहयोग गर्ने अभियान सकारात्मक र प्रशंसनीय रहेको बताए।

कमेन्ट लोड गर्नुस