सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा प्रशासनले जनप्रतिनिधि र स्थानीय कुटिएको थाहै पाएन

२०८३ जेठ ६, ०६:५२ नारायण अवस्थी

धनगढीः बाजुरा जिल्ला प्रशासनले त्यहाँका एक जना जनप्रतिनिधि र थप पाँच जना स्थानीय निर्घात कुटपिटमा परेको थाहा नपाएको पुष्टि भएको छ।

जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिका-२ का करिब तीन सय जना आएर हिमाली गाउँपालिका वडा नम्बर-३ का वडा अध्यक्ष लगायतलाई कुटपिट गरेका थिए। कुटपिटको घटनाबारे अहिले पनि जिल्ला प्रहरी कार्यालय बाजुरा तथा जिल्ला प्रशासन कार्यालय बाजुराले सत्यतथ्य विवरण सार्वजनिक गरेका छैनन्।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल र धनगढीका मेयर गोपाल हमालले हुम्लाबाट आएका करिब तीन सय व्यक्तिले जेठ ३ गते वडा अध्यक्ष गुरुङको घरमा प्रवेश गरेर गुरूङ र उनकी श्रीमतीलाई निर्घात कुटपिट गरेका थिए। उनीहरूले अन्य गाउँलेहरूलाई समेत कुटपिट गर्नुका साथै जेठ ३ गतेदेखि वडा सदस्यको घर कब्जा गर्दै घाइतेहरूलाई समेत उपचारका लागि बाहिर लैजान नदिएको तथ्य खुलेको छ।

तर, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी इकवाल हवारीले जेठ ३ गते वडा सदस्यसहितका ६ जनामाथि कुटपिट भएको विवरण उपलब्ध गराएनन्। उनले दिनेशखबरसँग कुराकानी गर्दै जेठ ३ गतेको घटना प्रहरीको जानकारीमा नरहेको बताए।

प्रहरी र जिल्ला प्रशासनले हिमाली गाउँपालिकामा घटेको गम्भीर घटनालाई सामान्य रुपमा लिएको आरोप लागेको छ। तीन दिनपछि मात्रै घाइतेहरूको उद्दार हुनु तथा धनगढीबाट साइपाल बेसक्याम्प जान लागेको टोलीलाई सुरक्षाको विषयमा कुनै पूर्व जानकारी नदिएको पाइएको छ।

स्थानीय प्रशासनसँग गर्नुपर्ने समन्वय गरेर गएको धनगढीको टोलीलाई बाजुरा प्रशासनले सुरक्षा चुनौतिबारे कुनै पूर्व सूचना नदिएका कारण आफूहरू झण्डै ठुलो दुर्घटनामा परेको भन्दै धनगढीका मेयर हमालले गुनासो पोखेका छन्। प्रहरी र प्रशासन मङ्गलावार भएको घटनाबारे समेत गलत सूचना प्रवाह गरेको उनले बताए।

उता यो विषयमा बाजुरका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासँग बुझ्न खोज्दा उनले फोन नै रिसिभ गरेरनन् भने डिएसपी हवारीले प्रहरी प्रवक्ता नेरशबहादुर शाहीसँग कुरा बुझ्नु भन्दै पन्छिए। प्रवक्ता शाहीको सरकारी नम्बर भने अफ गरिएको छ।

धनगढी उपमहानगरपालिकाको टोलीले बाजुरा जिल्ला प्रशासन कार्यालयलाई जेठ २९ गते नै रानीसैन भ्रमणको सम्पूर्ण विवरण मेल गरेको नगर प्रमुख हमालले जानकारी दिए। उनलका अनुसार टोलीमा सहभागी सबैको नाम, ठेगाना, सम्पर्क नम्बर र भ्रमण टोलीले खाना खाने र बस्ने ठाउँको समेत विवरण उपलब्ध गराएको थियो। तर स्थानीय प्रशासनले कुनै चासो नदिँदा साइपाल बेसक्याम्पका लागि गएको धनगढीको टोली हुम्लाका सयौं जनाको हातबाट कुटपिट हुनबाट भागेर ज्यान जोगाउनु परेको मेयर हमालले बताए।

उनले जेठ ३ गतेदेखि नै झडप तथा कुटपिट भएको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुराले सुरक्षा एडभाइजरी जारी नगर्दा धनगढीको टोली दुर्घटनामा पर्नबाट बल्लतल्ल बाँचेको टिप्पणी गरेका छन्।

जेठ ३ गतेसम्म कुटपिटमा परेर सख्त घाइते भएकाहरूलाई समेत हुम्लाबाट आएको समूहले बन्दक बनाएको खबर सार्वजनिक भएका छन्। बुधबार एक बजे मात्रै सिम्रिक एयरको हेलिकपप्टरबाट घाइतेहरूलाई उपचारका लागि सुर्खेत लगिएको छ।

हुम्लाबाट आएको समूहको आक्रमणका परेर जेठ ३ गते वडा अध्यक्ष पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकपप्टरबाट उद्दार गरिएको हो। धनगढीको टोली भने हिमाली गाउँपालिका-३ लाम्पाटाबाट फिर्ता भएको छ।

रानीसैन क्षेत्र हुम्ला जिल्लामा पर्ने भन्दै हुम्लाको खार्पुनाथ-२ थलीका स्थानीयले बाजुराको हिमाली गाउँपालिका-३ का वडा सदस्यलगायतलाई कुटपिट गर्नुका साथै सुदूरपश्चिम प्रदेशका कसैलाई पनि रानीसैन जान नदिने भन्दै 'हाम्रो सुदूरपश्चिम हामी चनाउँछौँ' अभियानको टोलीलाई लाम्पाटाबाटै लखेटेको बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस