सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

२०८३ जेठ ७, ०४:०२ रासस

कीर्तिपुर: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्म आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त प्रत्येक क्याम्पसमा कम्तीमा एउटा ‘स्मार्ट कक्षा’ सञ्चालन गर्ने भएको छ।

नेपालस्थित युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा स्मार्ट कक्षा सञ्चालनको पहल गरिएको हो। कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा आज आयोजित कार्यक्रममा उपकुलपति प्रा. डा. सुशील बज्राचार्यले स्मार्ट कक्षाको उद्घाटन गर्दै उक्त जानकारी दिएका हुन्।

उपकुलपति बज्राचार्यले परम्परागत एकोहोरो शिक्षण शैलीलाई परिवर्तन गरी पठनपाठनलाई अन्तरक्रियात्मक र प्रविधिमैत्री बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको बताए।

“क्रमशः सबै कक्षालाई स्मार्ट प्रविधिमा रूपान्तरण गर्दै स्मार्ट कक्षाका रूपमा विकास गरिनेछ,” उनले भने, “यसले पठनपाठनको गुणस्तर र समग्र शैक्षिक नतिजामा सुधार ल्याउन ठूलो मद्दत पुग्नेछ।”

लामो समय इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापन गरेका उपकुलपति बज्राचार्यले त्यहाँ स्मार्ट प्रविधिको प्रयोग पहिलेदेखि नै हुँदै आएको उल्लेख गर्दै सोही अनुभवका आधारमा विश्वविद्यालयका सबै क्याम्पसमा स्मार्ट कक्षा विस्तार गर्न लागिएको बताए।

कमेन्ट लोड गर्नुस