सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारको अस्थायी रोक

२०८३ जेठ ८, १२:१० खबर संवाददाता

काठमाडौँः सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा अस्थायी रोक लगाएको छ। बढ्दो वायु प्रदूषण, सवारी चाप, ट्राफिक जाम तथा सार्वजनिक यातायातको अव्यवस्थित सञ्चालन नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई परिपत्र गर्दै इलेक्ट्रिकसहित सबै प्रकारका नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न निर्देशन दिएको जनाएको छ।

विभागका अनुसार सार्वजनिक यातायात प्रणाली वैज्ञानिक र व्यवस्थित हुन नसक्दा दैनिक आवागमन झनै कठिन बन्दै गएको छ। सडकमा बढ्दो सवारी चाप, इन्धन मूल्यवृद्धि र प्रदूषणको प्रभावलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी दर्ता रोक्ने निर्णय गरिएको विभागको भनाइ छ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हित, वातावरण संरक्षण तथा सडक व्यवस्थापनका आधारमा सवारी दर्ता नियन्त्रण गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ।

सरकारले सार्वजनिक यातायातको दीर्घकालीन व्यवस्थापन तथा सुधारको योजना तयार नहुन्जेलसम्म यो निर्णय कायम रहने जनाएको छ। अर्को सूचना जारी नभएसम्म देशभर कुनै पनि नयाँ सार्वजनिक सवारी साधन दर्ता नहुने स्पष्ट गरिएको छ।

कमेन्ट लोड गर्नुस