कैलाली र कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ
काठमाडौं: कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित ४ जनालाई पक्राउ गरेको छ।
कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित टिकापुर नगरपालिका–१ एकतानगर बस्ने १९ वर्षीय नरेश परियार पक्राउ परेका हुन्। शुक्रबार साँझ प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।
यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी दुई नम्बर चौराहाबाट १ ग्राम ८६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय सुर्य नाथ, २८ वर्षीय रोहन बोहरा र २८ वर्षीय हिक्मत भण्डारी रहेका छन्।
लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।