सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अवैध रूपमा सञ्चालन भइरहेका ६ वटा क्लिनिक सिल

२०८३ जेठ ९, ०४:३८ खबर संवाददाता

बझाङः बझाङमा अवैध रूपमा सञ्चालन भइरहेका ६ वटा क्लिनिक, मेडिकल तथा स्वास्थ्य संस्था सिल गरिएको छ ।

औषधी व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएका तथा मापदण्डविपरीत सेवा दिइरहेका स्वास्थ्य संस्थामाथि जिल्ला प्रशासन कार्यालय बझाङ र औषधी व्यवस्था विभागको संयुक्त अनुगमन टोलीले कारबाही गरेको हो ।

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी तथा स्वास्थ्य सेवामा भइरहेको अनियमित्ता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बझाङ, औषधी व्यवस्था विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका अस्पताल, मेडिकल, फार्मेसी तथा क्लिनिकहरूमा स्थलगत अनुगमन गरेको थियो ।

निरीक्षणको क्रममा औषधी व्यवस्था विभागमा दर्ता नै नगरी सञ्चालन गरिएका, म्याद नाघेका औषधी बिक्री वितरण गरिरहेका तथा मेडिकलमा बिक्री गर्न नमिल्ने औषधीहरू राखिएको भेटिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक दिनेशराज न्यौपानेले बताए।  

बुधबार र बिहीबार गरिएको अनुगमनका क्रममा सीएमए संघमा मात्रै दर्ता गरिएको र  औषधी व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि बुंगल नगरपालिका–४ बिजगडामा रहेको सुलभ क्लिनिक, बुंगल नगरपालिका –६ खौलाधारमा गरिमा जनसेवा क्लिनिक, जयपृथ्वी नगरपालिका–१० चैनपुरमा सञ्चालनमा रहेको ईशानी अस्पताल, चैन मेडिकल, शुसिल हेल्थ क्लिनिक र अमिशा अस्पताललाई सिल गरिएको हो ।

अनुगमनका क्रममा केही मेडिकल तथा फार्मेसीमा चिकित्सकको सिफारिसबिना बिक्री गर्न नमिल्ने औषधी समेत भेटिएपछि सम्बन्धित सञ्चालकलाई सचेत गराउँदै थप बयानका लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमा उपस्थित हुन निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

बुंगल नगरपालिकामा रहेका ३ वटा तथा जयपृथ्वी नगरपालिकामा रहेका ८ वटा गरी कुल ११ वटा स्वास्थ्य संस्थाको निरीक्षण गरिएकोमा ६ वटा सिल गरिएको छ । निरीक्षणका क्रममा आवश्यक अनुमति तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका संस्थामाथि कारबाही गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले स्वास्थ्य संस्था सञ्चालन गर्दा अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गर्न, दक्ष जनशक्ति राख्न तथा कानुनबमोजिम मात्रै औषधी बिक्री वितरण गर्न आग्रह गरेको छ । जिल्लामा पछिल्लो समय अनुमति नलिइ स्वास्थ्य संस्था सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएपछि अनुगमनलाई तीव्र बनाइएको प्रशासनको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा पनि जिल्लाभर नियमित रूपमा अनुगमनलाई निरन्तरता दिइने जनाएको छ । स्वास्थ्य क्षेत्रमा हुने लापरबाही, अवैध औषधी कारोबार तथा मापदण्डविपरीत सञ्चालन भइरहेका संस्थामाथि थप कडाइ गरिने सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन्। -गाेरखापत्र  
 

कमेन्ट लोड गर्नुस