सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत–अमेरिका सम्बन्ध सुधार प्रयासमा रुबियोको दिल्ली भ्रमण

२०८३ जेठ १०, ०९:२४ रासस

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग उच्चस्तरीय वार्ता गरेका छन्। वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला वर्षहरूमा कमजोर बन्दै गएको विश्वास पुनःस्थापित गर्ने उद्देश्यसहित उनी भारत भ्रमणमा छन्।

विश्लेषकहरूका अनुसार संयुक्त राज्य अमेरिका र भारत बीचको सम्बन्ध करिब दुई दशकयताकै कमजोर अवस्थामा पुगेको मानिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति तथा भारतीय निर्यातमाथि लगाइएको अतिरिक्त शुल्कले सम्बन्ध थप जटिल बनेको बताइएको छ।

रुबियो शनिबार नयाँदिल्ली पुगेका हुन्। उनको भ्रमण इन्डो–प्यासिफिक सुरक्षा संरचना ‘क्वाड’ अन्तर्गत भारत, अस्ट्रेलिया र जापानका विदेशमन्त्रीसँग हुने बैठकअघि भएको हो।

नयाँदिल्लीमा रुबियोले भारतलाई अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिक दृष्टिकोणको 'आधारशिला' भएको उल्लेख गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यमा यसको महत्वपूर्ण भूमिका रहेको बताए।

चार दिने भ्रमणका क्रममा अमेरिका स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग सम्बन्धित विभिन्न कूटनीतिक कार्यक्रमहरू पनि आयोजना गरिएका छन्।

भारतका पूर्व विदेश नीति सल्लाहकार अशोक मलिकले व्यापार, सुरक्षा र कूटनीतिक विषयमा वासिङ्टनबाट आएका पछिल्ला अभिव्यक्तिहरूले सम्बन्धमा असहजता र विश्वासको कमी सिर्जना गरेको टिप्पणी गरे। उनले भ्रमणले सम्बन्धलाई थप बिग्रन नदिई स्थिर बनाउन सके सफल मानिने बताए।

विशेषज्ञहरूका अनुसार साझा सुरक्षा चिन्ताले अमेरिका र भारतलाई नजिक ल्याए पनि दुवै देशका रणनीतिक प्राथमिकता फरक–फरक रहेका छन्। भारत परम्परागत रूपमा रूससँग निकट मानिए पनि पछिल्ला वर्षहरूमा अमेरिकासँग सहकार्य बढाउँदै आएको छ।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो सैन्य तथा आर्थिक प्रभावका कारण क्वाडमार्फत भारत, अमेरिका, अस्ट्रेलिया र जापानबीच सहकार्य विस्तार हुँदै आएको छ। दक्षिण चीन सागरमा चीनको गतिविधिप्रति यी देशहरूले बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् भने बेइजिङले आफ्नो गतिविधि रक्षात्मक भएको दाबी गर्दै आएको छ।

जनवरी २०२५ मा अमेरिकी प्रशासनको जिम्मेवारी सम्हालेपछि रुबियोको पहिलो अन्तर्राष्ट्रिय सहभागिता पनि क्वाड बैठक नै रहेको थियो। यसलाई इन्डो–प्यासिफिक क्षेत्रप्रति वासिङ्टनको प्राथमिकताको संकेतका रूपमा हेरिएको छ।

यद्यपि पछिल्ला महिनाहरूमा भारत–पाकिस्तान तनावमा अमेरिकी भूमिकाबारे असन्तुष्टि, रूसबाट तेल खरिदसम्बन्धी विवाद तथा व्यापार नीतिका कारण भारत–अमेरिका सम्बन्धमा चिसोपन बढेको विश्लेषण गरिएको छ। विशेषज्ञहरूका अनुसार भारतले अहिले “रणनीतिक धैर्य” अपनाउँदै दीर्घकालीन सहकार्य कायम राख्ने प्रयास गरिरहेको छ।

कमेन्ट लोड गर्नुस