धनगढी र नेपालगञ्जको तापक्रम ४१ डिग्री, दिपायलमा ४० डिग्री पुग्ने
धनगढीः जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार सोमबार देशका विभिन्न भू–भागमा मौसमको दुई फरक अवस्था देखिने भएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना रहेकामा पहाडी, मध्य तथा पूर्वी क्षेत्रका धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
दिउँसोको समयमा विशेषगरी पश्चिमी तराईका दिपायल, धनगढी र नेपालगञ्ज अत्यधिक गर्मीको चपेटामा पर्नेछन्। यी स्थानमा तातो हावाको लहर चल्ने र अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। धनगढी र नेपालगञ्जमा तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने सम्भावना छ। यस्तै, डटीको दिपायलको तापक्रम ४० डिग्री पुग्ने अनुमान गरिएको छ।
त्यसैगरी वीरेन्द्रनगर, घोराही र भैरहवामा ‘तातो दिन’ रहनेछ। यहाँ तापक्रम ३६ देखि ४० डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ। रातिको समयमा यी सहरहरूको मौसम प्रायः सफा रहनेछ भने भैरहवामा आंशिक बादल लाग्ने सम्भावना रहेको छ।
पश्चिमी तराई उखरमाउलो गर्मीमा रहँदा देशका अन्य धेरै सहरहरूमा भने वर्षा हुने देखिएको छ। पोखरा र ताप्लेजुङमा दिउँसो र राति दुवै समयमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ६० प्रतिशतसम्म रहेको छ। संघीय राजधानी काठमाडौँमा पनि दिउँसो र राति मध्यम वर्षा हुने र अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ।
यसका साथै ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान र जिरीमा पनि दिउँसो र राति मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
पहाडी र हिमाली क्षेत्रमा पनि वर्षा जारी रहने देखिएको छ। सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दिउँसो हल्का वर्षा भए पनि राति मौसम सफा रहने अनुमान छ। जुम्लामा दिउँसो हल्का वर्षा र राति पनि निरन्तर पानी पर्ने सम्भावना छ भने जोमसोममा दिउँसो हल्का र राति मध्यम वर्षा हुने देखिएको छ।
तराईका सिमरा र जनकपुरमा दिउँसो आंशिक बादल लाग्ने तर रातिको समयमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
समग्रमा पश्चिमका केही भू–भागमा अत्यधिक गर्मीको महसुस हुने भए पनि देशका अधिकांश स्थानमा वर्षाका कारण मौसम केही शीतल रहने पूर्वानुमान गरिएको छ।