बाजुराको लाम्पाटा घटनाको विषयमा बोल्यो पत्रकार महासंघ
धनगढीः बाजुराको रानीसैन क्षेत्रमा भएको घटनामा समाचार संकलनमा खटिएका पत्रकारमाथि दुर्व्यवहार गरिएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूले पत्रकारका सञ्चार सामग्री तोडफोड तथा लुटपाट गर्नुका साथै भौतिक आक्रमणको धम्की दिएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार जेठ ३ गते घटनास्थलमा समाचार संकलनका लागि पुगेका पत्रकार उमेशबहादुर शाहीको ड्रोन क्यामेरा नियन्त्रणमा लिएर तोडफोड गरिएको थियो। त्यस्तै पत्रकार जनक बोहरा, अतिल शाही र जीतजंग कटेललाई तीन दिनसम्म सम्पर्कविहीन बनाइएको र खिचिएका भिडियो सामग्री मेटाउन लगाइएको महासंघ बाजुरा शाखाले जनाएको छ। जेठ ३ गतेदेखि सम्पर्कविहीन रहेका उनीहरू जेठ ६ गते शाखाको सम्पर्कमा आएका थिए।
महासंघले पत्रकार प्रकाशबहादुर सिंहसहित शाही र कटेललाई सामाजिक सञ्जालमार्फत गालीगलौज तथा ज्यान मार्ने धम्कीसमेत दिइएको जनाएको छ।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सामाजिक अपराधजन्य गतिविधिको महासंघले कडा भर्त्सना गरेको छ। साथै घटनाको छानबिन गरी दोषीउपर तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ।