लाम्पाटा घटनामा संलग्न रहेका २३ जनाको नाम सार्वजनिक
धनगढीः बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा पत्रकार तथा स्थानीयमाथि कुटपिट, लुटपाट र शरीर बन्धक बनाएको आरोपमा २३ जनाको नाम सार्वजनिक गरिएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीबाट बाजुराको लाम्पाटा पुगेका समूहले जेठ ३ गते कुटपिट तथा दुर्व्यवहार गरेको र जेठ ५ गतेसम्म केही व्यक्तिलाई शरीर बन्धक बनाएको आरोप लगाइएको हो।
घटनामा संलग्न रहेको आरोप लागेकामध्ये खार्पुनाथ-२ थालीका देवराज रावल, किशोर रावल, चन्द्रबहादुर रावल, रामदत्त रावल, सुन्दर जेठारा, माने जेठारा, वीर रावल, लोकेश रावल, कालजङ्ग रावल, गगन रावल, मेख रावल, ज्ञानेन्द्र शाही, शेर रावल, जया रावल, बुद्धि रावल, बृख रावल, कैलाश रावल, परेलाल रावल, करे रावल, लामा रावल, शङ्कर रावल, शान्त रावल र सिद्ध कार्की रहेका छन्।
उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।
स्थानीय स्रोतका अनुसार उक्त समूह लाम्पाटा क्षेत्रमा पुगेर विवाद सिर्जना गर्नुका साथै कुटपिट, लुटपाट र धम्कीपूर्ण गतिविधिमा संलग्न भएको आरोप छ। घटनाका क्रममा केही पत्रकारको सञ्चार सामग्रीसमेत तोडफोड गरिएको तथा भिडियो सामग्री मेटाउन लगाइएको बताइएको छ।
यसअघि नेपाल पत्रकार महासंघले समेत प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको थियो। महासंघले समाचार संकलनमा खटिएका पत्रकारमाथि आक्रमण, सञ्चार सामग्री तोडफोड र धम्की दिने कार्य प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको थियो।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीयवासी, पत्रकार तथा सरोकारवालाले माग गरेका छन्।