कञ्चनपुरका तीन स्थानीय तहमा सार्वजनिक बिदा
कञ्चनपुरः कञ्चनपुरको दक्षिणी क्षेत्रमा प्रसिद्ध “नक्टाबाबा कालेश्वर महादेव मन्दिरमा मनाइने गङ्गादशहरा पर्वको अवसरमा यहाँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले सोमबार सूचना जारी गर्दे जेष्ठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन मनाइने गङ्गादशहरा पर्वको अवसरमा मङ्गलबार स्थानीय बिदा दिने निर्णय गरिएको जनाएका हुन्।
दक्षिणी क्षेत्र भकुन्डा स्थित नक्टाबाटा (कालेश्वर) मन्दिरमा प्रत्येक वर्ष शुक्ल पक्ष दशमी तिथिका दिन यस क्षेत्रकै ऐतिहासिक गङ्गादशहरा पर्व मनाइँदै आएको छ। सोमबार बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले सूचना जारी गर्दे मङ्गलबार पालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एवम् सङ्घ संस्थालाई एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेका छन।
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले उक्त नक्टाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गदैँ लैजाने उद्देश्यले यसको महत्वलाई समेत दृष्टिगत गरी एक दिन स्थानीय बिदा दिइएको बताए। बेलौरी–५, पुनर्वास १ तथा लालझाँडी–२ को सीमामा रहेको नक्टाबाबा कालेश्वर महादेव मन्दिरमा मनाइने पवित्र धार्मिक स्थल गङ्गादशहरा पर्वको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट गरी दशौं हजार आस्थावानहरु दर्शनका लागि पुग्ने गरेका छन्।
मेलामा व्यापारिक प्रयोजन, खानपानका परिकार तथा अन्य सांस्कृतिक वस्तुका गरी करिब चारसय बढी स्टल राखिएको कालेश्वर मन्दिर समितिका अध्यक्ष विश्राम रानाले बताए। त्यसैगरी, जिल्लाका तीन स्थानीयतहले अत्यधिक गर्मीका कारण विद्यालय एक साता बन्द रहने जनाएका छन्।
शुक्लाफाँटा, भीमदत्त र कृष्णपुर नगरपालिकाले एक सूचना जारी गर्दे अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दे नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरूमा जेठ १३ गते सम्म स्थानीय बिदा दिइएको उल्लेख छ। त्यसै गरी, जेठ १४ गते बिहीबारका दिन बकर ईद तथा १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा रहने छ।
त्यस पछि १६ र १७ गते दुई शनिबार र आइतबार लगातार बिदा छ। यो सँगै भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विद्यालयमा एक साता सार्वजनिक बिदा हुने भएको हो। भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले लामो बिदाबाट कट्टी हुने गरी स्थानीय बिदा दिइएको बताए।