सुदूर नेपाललाई विश्वसँग जोड्दै

मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

२०८३ जेठ १२, ०२:२५ रासस

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। चक्रपथभित्र  सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो।

विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ भूमिगत प्रसारण लाइन निर्माण हुन लागेको बताइएको छ। 

प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ। बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ।

डलब सर्किट सो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ। यस्तै, महाराजगञ्जमा एक सय ३२/११ केभी राजदरबारमा एक सय ३२ /११ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ।

यस्तै, रत्नपार्कमा एक सय ३२/११ केभी र सिंहदरबारमा एक ३२/६६/११ केभी क्षमताको सवस्टेशन समेत निर्माण हुनेछ। सो प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि अनुमति मात्रै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ।

सो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ। भूमिगत डबल सर्किट रहने सो प्रसारण लाइनमा ३५० मेगावाटसम्मको विद्युत् शक्ति प्रवाह हुनेछ।

सो प्रसारण लाइन लाइनमा २१ ‘ज्वाइन्ट पिट्स’हरु निर्माण हुनेछ। त्यसको अधिकतम दूरी ५०० मिटरसम्म हुनेछ। आयोजना निर्माणको लागि कूल एक दशमलव ६२ हेक्टर जमिन आवश्यक पर्नेछ।

सो प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम भूक्षय, बाढी, वायुप्रदूषण आदिद्वारा वातावारणमा उल्लेखनीय प्रतिकुल नपर्ने गरी निर्माण गर्नुपर्नेछ।

विभागले आयोजनाका सम्बन्धमा आवश्यक सुझाव र सल्लाह उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ। प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ। काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा छ।

पोखरा र भरतपुरमा समेत भूमिगत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ। सहरी सौन्दर्य बढाउने र सहज रुपमा विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको भूमिगत प्रसारण लाइन निर्माण तोकिएको समयमा पूरा नहुँदा अपेक्षित लक्ष्य हासिल हुन सकेको छैन। 

कमेन्ट लोड गर्नुस