सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल

२०८३ जेठ १२, ०३:२७ रासस

काठमाडौँ: सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुखले सो आग्रह गरेका हुन्। बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहनुभएका सांसदहरुलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरे। 

“सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ”, उनले भने।
 
सभामुखको आग्रहको बाबजुद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन्। प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले विरोध सुरु गरेका हुन्। विपक्षी दलहरुले सदनमा उपस्थित भएर आफ्ना दृष्टिकोण राख्न तथा आमजनतालाई उत्साहित बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सरकारबाट प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको अरोप लगाउँदै प्रतिपक्षको आवाज सुनेर साझा राष्ट्रिय ‘एजेन्डा’ स्थापित गर्न सुझाव दिए।
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएर सरकार सदनप्रति जवाफदेही हुनुपर्ने बताए। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विपक्षीको अवरोधका बीच सदनको कामकारबाही अघि बढाउनु उचित नहुने बताए।
 
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जनताको आवाज सुनिदिन आग्रह गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुश्बु ओलीले लोकतन्त्रमा संवाद नै पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न अनुरोध गरे।

कमेन्ट लोड गर्नुस