मठ–मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिने जनक परियार पक्राउ
काठमाडौँः मठ र मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार परियारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। २७ वर्षीय परियारले अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै ‘मठ–मन्दिरमा आगो लगाइदिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले समान अधिकार सुनिश्चित नभए देशभर विद्रोह गर्ने चेतावनीसमेत दिएका थिए। जेन्जी युनाइटेडका संयोजकसमेत रहेका परियारले दलितलाई नारकीय जीवन जिउन बाध्य बनाइएको र गाउँमा दलितको अवस्था दयनीय रहेको दाबी गरेका छन्। उनका यी भनाइहरू विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक भएका छन्। प्रहरीका अनुसार परियार हाल टोखा नगरपालिका–८ स्थित बानियाँटारमा बसोबास गर्दै आएका थिए।