सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया यसै वर्ष सुरु हुने

२०८३ जेठ १५, ०७:४७ खबर संवाददाता

धनगढीः लामो समयदेखि चर्चामा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण प्रक्रिया अब औपचारिक रूपमा सुरु हुने भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत फाप्ला परियोजनाका लागि बजेट विनियोजन गर्दै यसै वर्ष ठेक्का प्रक्रिया अघि बढाउने घोषणा गरेको हो।

शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले क्रिकेटको सहरका रूपमा परिचित धनगढीस्थित फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाइने जानकारी दिए। साथै, २ हजार दर्शक क्षमताको इनडोर मल्टिपर्पस स्टेडियम निर्माण पनि सुरु गरिने र उक्त संरचना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारको रहेको उनले बताए।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अनुसार परियोजनाको निर्माण सुरु हुनुअघि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरिएको छ। समितिका अध्यक्ष सुवास शाहीले २०६६ सालदेखि सुरु भएको फाप्ला अभियान अन्तर्गत मैदान सम्याउने, क्रिकेट पिच निर्माण गर्ने, सडक विस्तार, विद्युत तथा खानेपानीको पहुँच पुर्‍याउनेलगायत आधारभूत पूर्वाधार निर्माण भइसकेको जानकारी दिए।

उनका अनुसार धनगढी क्रिकेट लिग (डीसीएल), धनगढी प्रिमियर लिग (डिपिएल) तथा नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता प्रतियोगिताले फाप्लालाई राष्ट्रिय स्तरमा परिचित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

‘ड्रिम फाप्ला’ अभियानमार्फत समिति गठन भएपछि साढे ३८ बिघा जग्गा प्राप्तिसम्बन्धी कानुनी जटिलता समाधान गरिएको, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका प्रक्रिया पूरा गरी आयोजनालाई राष्ट्रिय आयोजना बैंकमा समेत समावेश गरिएको अध्यक्ष शाहीले बताए।

बजेट घोषणासँगै अब फाप्ला क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, इनडोर मल्टिपर्पस स्टेडियम तथा अन्य खेल पूर्वाधार निर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। यस परियोजनाले सुदूरपश्चिममा खेलकुदसँगै पर्यटन, व्यापार, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

अध्यक्ष शाहीले फाप्लाको भौतिक निर्माण सुरु हुने सुनिश्चिततासँगै सुदूरपश्चिमवासीको दशकौँदेखिको सपना पूरा हुने चरणमा पुगेको भन्दै सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस