सुदूर नेपाललाई विश्वसँग जोड्दै

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दा संवेदनशील रूपमा उठाउन सञ्चारकर्मीलाई आग्रह

२०८३ जेठ १७, ०८:२३ खबर संवाददाता

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित समाचार सम्प्रेषण र सञ्चारकर्मीहरूको भूमिकाबारे धनगढीमा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले समुदायका मुद्दालाई तथ्यपरक, संवेदनशील र सम्मानजनक ढङ्गले सञ्चारमाध्यममार्फत प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा प्राइड प्रोजेक्टकी प्रतिनिधि मनिला न्यौपानेले सञ्चारमाध्यमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सवाललाई सशक्त रूपमा उठाउँदै आएकाले समुदायका सदस्यहरूलाई आफ्नो आवाज अभिव्यक्त गर्न सहज भएको बताइन्। उनले राजधानीबाहिरका क्षेत्रमा भने समुदायका व्यक्तिहरूले अझै पनि विभिन्न सामाजिक, कानुनी तथा प्रशासनिक चुनौतीहरू सामना गरिरहेको उल्लेख गरिन्।

उनले समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित नभएसम्म समग्र विकास र समान सहभागिताको लक्ष्य हासिल हुन नसक्ने बताइन्। सर्वोच्च अदालतबाट समुदायको अधिकारका पक्षमा महत्वपूर्ण फैसला भए पनि ती निर्णयहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।

प्राइड प्रोजेक्टले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको राजनीतिमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। कार्यक्रममा नागरिकता प्राप्ति, विवाह दर्ता लगायतका आधारभूत अधिकारको उपयोगमा समुदायले भोगिरहेका समस्याबारे पनि छलफल गरिएको थियो। सहभागीहरूले कतिपय व्यक्तिले नागरिकता प्राप्तिका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था अझै कायम रहेको बताएका थिए।

नील हिरा समाजकी प्राविधिक सल्लाहकार पिंकी गुरुङले सञ्चारमाध्यमले समुदायसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, सन्तुलन र संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने बताइन्। आधिकारिक स्रोतको पुष्टि नगरी समाचार प्रकाशन वा प्रसारण गर्दा समुदायबारे गलत धारणा बन्न सक्ने र त्यसले थप समस्या निम्त्याउन सक्ने उनको भनाइ थियो।

यस्तै निलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायका व्यक्तिहरूको पहिचान, गरिमा र आत्मसम्मानलाई सम्मान गर्ने भाषाको प्रयोग गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिन्। सञ्चारकर्मीकै कारण आफूहरूले एक्लै लडिरहेको लडाई सहजतासम्म पुगेको उल्लेख गर्दै सम्मानजनक र समावेशी भाषाले समुदायप्रति समाजमा सकारात्मक दृष्टिकोण विकास गर्न तथा अधिकार सुनिश्चितताको अभियानलाई  थप सहजता हुने ढकालले बताइन् ‌।

यौनिक तथा अल्पसंख्यक महासङ्घ नेपालका अध्यक्ष राजु लामाले सञ्चारकर्मीहरूसँगको सहकार्यले राज्यसँग अधिकार माग्न आफूहरूलाई सहजता भएको बताए।

कमेन्ट लोड गर्नुस