६ महिनादेखि बनेर पनि सञ्चालनमा आउन सकेन दार्चुलाको नेपाल–भारत जोड्ने पक्की पुल
दार्चुलाः दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको पिथौरागढ अन्तर्गत धार्चुला–बालुवाकोटनजिक छारछुम जोड्ने नेपाल–भारत सीमा क्षेत्रको पक्की पुल निर्माण सम्पन्न भएको छ। तर निर्माण सकिएको करिब ६ महिना बितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन।
दुई देश जोड्ने ११० मिटर लम्बाइको यो पुलको मुख्य संरचना र सडकमार्गसँग जोड्ने बाटो निर्माण पूरा भइसकेको भए पनि नेपालतर्फ आवश्यक पूर्वाधार अझै तयार हुन बाँकी छ। भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि सुरक्षा चेक पोस्टको संरचना निर्माण हुन नसक्दा पुल सञ्चालनमा ढिलाइ भएको अनिल पौडेलले जानकारी दिए।
उनका अनुसार पुल सञ्चालनका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया भने पूरा भइसकेको छ। साथै पुल सञ्चालनका लागि चाहिने जनशक्ति व्यवस्थापन र प्रशासनिक तयारीबारे काठमाडौँस्थित भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई जानकारी गराइसकेको छ।
भारतीय पक्षबाट पुलसँग जोडिएको मुख्य सडकमार्गसमेत निर्माण सम्पन्न भएको औपचारिक पत्र जिल्ला प्रशासन कार्यालयमा प्राप्त भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
नेपाल–भारत सीमा जोड्ने उक्त पुलको शिलान्यास २०७९ असोज ९ गते नेपालतर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फबाट उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले गरेका थिए। यस पुलको कुल लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ।