सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट चार जना फरार प्रतिबादी पक्राउ

२०८३ जेठ २०, ०७:१९ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट चार जना फरार प्रतिबादी पक्राउ परेका छन्।

कैलालीबाट पक्राउ पर्नेमा चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी टीकापुर नगरपालिका–१ बस्ने ५७ वर्षकी गंगा देवी शाह र लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका–२ बस्ने २३ वर्षीय कृष्ण रावल रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुरबाट पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने ३२ वर्षीय सुरज राना र सवारी ज्यान मुद्दामै ६ महिना कैद सजाय तोकिएको बेलौरी नगरपालिका–६ हात्तिबोझा बस्ने ४० वर्षीय चन्दु राना रहेका छन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै प्रतिवादीहरुलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस