सुदूर नेपाललाई विश्वसँग जोड्दै

असी तोला सुन चोरी

२०८३ जेठ २०, ०९:०८ खबर संवाददाता

बुटवलः बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ । सुनका गरगहना तथा काँचो सुन गरी करिब ८० तोला सुन चोरिएको छ।

पसल सञ्चालक दीपक सेन्चुरी घुम्नका लागि पोखरा गएका बेला सो घटना भएको हो। सोमबार बिहान पसलको सटर खुलेको अवस्थामा देखेपछि स्थानीयले सञ्चालकलाई खबर गरेका थिए। त्यसपछि पसलमा पुगेका परिवारका सदस्य र कामदारले चोरी भएको पुष्टि गरेका हुन्। पसल सञ्चालक सेन्चुरीले सुनका गरगहना र काँचो सुन गरी ८० तोला चोरी भएको र जसको बजार मूल्य साढे दुई करोड हुने बताए। 

पसलका कामदार नवीन विकका अनुसार पसलमा जडान गरिएको सिसिटिभी क्यामरा करिब तीन महिनादेखि बिग्रिएको अवस्थामा थियो। चोरले यही कमजोरीको फाइदा उठाएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थल निरीक्षणका क्रममा पसलभित्र एउटा ठुलो चाबीको झुप्पा फेला परेको छ तर ती चाबीहरू पसलकै नभएको बताइएको छ। पसलभित्र रहेका दुईमध्ये सुनका गरगहना राखिएको लकर खुला अवस्थामा भेटिएको थियो भने त्यसमा राखिएका सुनका सामग्री गायब थिए।

पसलभित्र प्रवेश गर्नुपर्ने च्यानल गेट र बाहिरी सटरमा तोडफोड भएको थिएन। यसले चोर सहज रूपमा पसलभित्र प्रवेश गरेको वा कुनै विशेष तरिकाले सुरक्षाप्रणाली छल्न सफल भएको हुन सक्ने आशङ्का बढाएको छ। घटनास्थलबाट करिब १५० मिटरको दुरीमा प्रहरी बिट रहे पनि चोरीको घटना हुनुले सुरक्षाव्यवस्थामाथि समेत प्रश्न उठाएको छ। करोडौँ रुपियाँ मूल्य बराबरका सुनका गरगहना चोरी भएको घटनाले बुटवलका व्यवसायी त्रसित छन्।  

कमेन्ट लोड गर्नुस