संयुक्त राष्ट्रसंघको प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित
न्युयोर्क : नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तरराष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ।
यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ। बहुपक्षीयता, अन्तरराष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका क्षेत्रमा सात दशकभन्दा लामो समयदेखि नेपालले देखाउँदै आएको प्रतिबद्धताको अन्तरराष्ट्रिय मान्यतास्वरूप यो जिम्मेवारी प्राप्त भएको बताइएको छ।
प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गरेका छन्।
न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रथम समितिले निःशस्त्रीकरण, अन्तरराष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषयमा छलफल, नीति निर्माण र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।