सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, १० जनाको मृत्यु

२०८३ जेठ २०, ०३:०३ खबर संवाददाता

भारतको राजधानी दिल्लीस्थित मालवीय नगरमा रहेको ‘लेमन ग्रीन’ रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा १० जनाको मृत्यु भएको छ।

दिल्ली अग्नि नियन्त्रक सेवाका अनुसार बिहान करिब १० बजे आगलागी भएको सूचना प्राप्त भएपछि १० वटा दमकल घटनास्थलमा परिचालन गरिएको थियो। दमकलकर्मीहरूले केही घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।

आगो नियन्त्रणपछि उद्धार टोलीले रेस्टुरेन्टको बेसमेन्टबाट गम्भीर अवस्थामा रहेका व्यक्तिहरूलाई बाहिर निकालेको थियो। उद्धार गरिएकामध्ये १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितै उद्धार गरिएका अन्य तीन जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार आगो भवनको भुइँ तल्लाबाट सुरु भएको थियो। आगलागीका कारण सिसाहरू फुटेपछि आगो तीव्र रूपमा बेसमेन्टतर्फ फैलिएको र त्यहाँ रहेका मानिसहरू बाहिर निस्कन नपाउँदै भित्रै थुनिएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस