कैलालीकी एक युवती काभ्रेमा प्रहरीका सईसँगै मृत फेला
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ ठुली सामुदायिक वनमा दुई जनाको शव फेला परेको छ।
पर्साको बहुदरमाई-८ रामनगरी घर भएका शक्ति राम र कैलाली घोडाघोडी नगरपालिका-१ की २६ वर्षीया शर्मिला चौधरीको शव फेला परेको हो।
उनीहरूको शव बुधबार बिहान साढे १० बजे ठुली सामुदायिक वनको रूखमा झुण्डिएको अवस्थामा भेटिएको हो।
शक्ति सशस्त्र प्रहरी सहायक निरीक्षक हुन्। उनी वैशाख १९ गतेबाट सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।
उनका अनुसार कैलालीकी २६ वर्षीया शर्मिला पनि वैशाख १८ गते सशस्त्र प्रहरी निरीक्षक शक्तिलाई भेट्न जाने भनेर हिँडेको अनुसन्धानमा खुलेको छ।
१८ गते घरबाट हिँडेकी शर्मिला तीन/चार दिनसम्म पनि कसैको सम्पर्कमा नआएपछि उनको भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा निवेदन दिएको पाइएको उनले जानकारी दिए।
'उनीहरूको शव फरक फरक रूखमा झुण्डिएको अवस्थामा भेटिएको हो,' डिएसपी विष्टले भने, 'टाउको कंकाल मात्र झुण्डिएको अवस्थामा भेटिएको थियो। बाँकी भुइँमा छरेको थियो।'
उनीहरूको शव पोष्टमर्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।