सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या

२०८३ जेठ २०, ०९:१९ रासस

कञ्चनपुरः सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्। प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन्। कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन्।
     
महाकाली प्रादेशिक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा अर्जुन भट्टले आपूर्ति केन्द्रबाट रेबिजविरुद्धको खोप नआएपछि समस्या भएको बताए। 'अस्पतालमा दैनिक ४०/५० जना बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन आउँछन्, हामीसँग खोप उपलब्ध छैन', उनले भने, 'जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन सकेको छैन।' धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ। 
    
आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिजविरुद्धको खोप उपलब्ध हुन नसकेको बताए। 'सुदूरपश्चिममा मात्रै नभई अहिले मुलुकभर रेबिजविरुद्धको खोप अभाव छ,' उनले भने, 'कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन भइसकेको छैन।' प्रदेश आपूति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा खोप उपलब्ध गराउँदै आएको छ।
      
प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महङ्गो शुल्क तिरेर खोप लगाउन बाध्य हुनुपरेको छ । “सरकारी अस्पतालमा खोप पाइएन निजी स्वास्थ्य संस्थाबाट रु ६४५ मा खरिद गर्यौं त्यो पनि सहजै पाइएन,” आज खोपका लागि महाकाली अस्पताल पुगेका सेवाग्राही लिलि कुवँरले भन्नुभयो, “तीन पटक लगाउनुपर्ने खोप अर्को पटक नपाउने होकि भन्ने चिन्ता छ ।”

कमेन्ट लोड गर्नुस