सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीबाट भन्सार छलीका सामान बरामद, ट्राफिक कारबाहीमा ९३ हजारभन्दा बढी राजस्व संकलन

२०८३ जेठ २१, १२:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले एकै दिनमा साढे २ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गर्नुका साथै ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गर्दै ९३ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार जेठ २० गते बिहान ६ बजेदेखि जेठ २१ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको विशेष निगरानी तथा कारबाहीका क्रममा उक्त उपलब्धि हासिल भएको हो।

प्रहरीका अनुसार सो अवधिमा विभिन्न स्थानबाट २ लाख ५० हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ। साथै ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्दा ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।

त्यसैगरी बुधबार प्रदेशका विभिन्न जिल्लाबाट चार जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत दुई ग्राम १०० मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई समेत नियन्त्रणमा लिइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान तथा राजस्व चुहावट रोक्न नियमित रूपमा निगरानी र कारबाहीलाई तीव्रता दिइएको जनाएको छ।

कमेन्ट लोड गर्नुस