सुदूरपश्चिम पृतनापति ट्रफी प्रतियोगिता सुरु
धनगढीः कैलालीको तेघरीमा आजदेखि नेपाली सेनाको सुदूरपश्चिम स्तरीय पृतनापति ट्रफी–२०८३ सुरु भएको छ।
सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसीले पृतनापति ट्रफी–२०८३ उद्घाटन गर्दै सैनिकहरूमा शारीरिक तन्दुरुस्ती, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगितामा बक्सिङ्ग, बास्केटबल, फुटबल, भलिबल, एथ्लेटिक्स, पौडी, तेक्वान्दो र जुडो गरी आठ विधामा प्रतिस्प्रर्धा हुनेछ। वार्षिक रूपमा खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफि आयोजना गर्ने गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रतियोगितामा पृतनाअन्तर्गतका विभिन्न गण तथा गुल्मका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सञ्चालनका लागि कैलालीमा तैनाथ सेनाको देवीदल गणले थप समन्वय र सहजीकरण गरिरहेको छ। उद्घाटनको पहिलो खेलमा फुटबलतर्फ देवीदल गण विरुद्ध ३–१ गोलसहित भैरवप्रसाद गणले विजयी यात्रा सुरु गरेको छ।