सुदूरपश्चिम प्रदेश प्रहरीको २४ घण्टे कारबाही: ठुलो परिमाणको अवैध सामान बरामद
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले जेठ २१ गते बिहान ६ बजेदेखि २२ गते बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा प्रदेशभर व्यापक सुरक्षा तथा कानुनी कारबाही सञ्चालन गरेको छ। उक्त अवधिमा प्रहरीले अवैध कारोबार, लागुऔषध ओसारपसार, जुवा–तास, सवारी दुर्घटना र फरार अभियुक्त नियन्त्रणजस्ता विविध कार्यमा उल्लेखनीय सफलता हासिल गरेको छ।
प्रहरीका अनुसार भन्सार छली गरी भित्र्याइएका करिब १७ लाख ६० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। त्यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूबाट ६४ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ।
सडक दुर्घटनाका घटनामा १४ जना घाइते भएका छन् भने लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३ जना सहित २ ग्राम ९५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ। जुवा–तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् र नगद तथा तास बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, विभिन्न मुद्दामा फरार रहेका ७ जना प्रतिवादीलाई पक्राउ गरिएको छ भने अदालतको आदेश कार्यान्वयनका क्रममा कैद तथा जरिवाना असुली गर्दै हालसम्म १ हजार ९३० जना नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।
प्रदेश प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नियमित तथा विशेष अभियानलाई निरन्तरता दिने जनाएको छ।