दुई वर्षमै चुहिन थाल्यो प्रदेश सरकारले बनाएको कैलाली बहुमुखी क्याम्पसको भवन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले निर्माण गरी कैलाली बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेको भवन दुई वर्षमै चुहिन थालेको छ।
क्याम्पसको विज्ञान तथा सूचना प्रविधि भवन ‘ए’ दुई वर्ष नपुग्दै चुहिन थालेपछि भवनको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।
४ करोड ५१ लाख ३८ हजार ४७० रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन २०८१ जेठ १६ गते तत्कालीन मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी र मन्त्रालयका तत्कालीन सचिव गणेशबहादुर सिंहले क्याम्पसलाई हस्तान्तरण गरेका थिए। उक्त भवन रोयल पवन जेभि निर्माण कम्पनीले निर्माण गरेको हो।
क्याम्पसका अनुसार मन्सुन सुरु हुनुअघि नै सामान्य वर्षा हुँदा समेत भवनको छतबाट पानी चुहिन थालेको छ। यसका कारण कक्षा सञ्चालनमा समस्या उत्पन्न हुनुका साथै ल्याबमा राखिएका लाखौं रुपैयाँ मूल्यका उपकरण र सामग्रीमा क्षति पुग्न थालेको छ।
क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्ट ले भवन हस्तान्तरण भएको दुई वर्षमै छतबाट पानी चुहिन थालेपछि निर्माण गुणस्तरमाथि प्रश्न उठेको बताए। उनका अनुसार भवनमा अध्ययन–अध्यापन सञ्चालन भइसकेको छ भने प्रयोगशालामा रहेका महँगा सामग्री समेत जोखिममा परेका छन्।
उनले छतबाट मात्रै नभई झ्यालहरूमा आवश्यक सिलिकनसमेत प्रयोग नगरिएकाले वर्षाको पानी भवनभित्र पस्ने समस्या देखिएको जानकारी दिए। “सामान्य वर्षामै पानी चुहिने र झ्यालबाट भित्र पस्ने अवस्था देखिनुले निर्माणको गुणस्तरबारे गम्भीर चिन्ता बढाएको छ,” उनले भने।
क्याम्पस प्रशासनले समस्या समाधानका लागि सामाजिक विकास मन्त्रालयलाई पटक–पटक जानकारी गराएको भए पनि हालसम्म मर्मतका लागि ठोस पहल नभएको जनाएको छ। मन्त्रालयबाट समस्या समाधान गरिने आश्वासन प्राप्त भए पनि कार्यान्वयनतर्फ कुनै तदारुकता नदेखिएको क्याम्पसको गुनासो छ।
क्याम्पसले होटल व्यवस्थापन संकायको ल्याबमा रहेका सामग्रीमा क्षति पुग्न सक्ने भन्दै निर्माण कम्पनी रोयल पवन जेभी निर्माण कम्पनी मार्फत दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाउन मन्त्रालयलाई औपचारिक पत्रसमेत पठाएको जनाएको छ।
प्रदेश सरकारले उच्च शिक्षाको भौतिक पूर्वाधार सुधार गर्ने उद्देश्यले निर्माण गरेको भवन छोटो अवधिमै चुहिन थालेपछि विद्यार्थी, शिक्षक तथा सरोकारवालाबीच सार्वजनिक लगानीको प्रभावकारिता र निर्माण कार्यको गुणस्तरबारे प्रश्न उठ्न थालेको छ।